


भक्तपुर, असार १९ – भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि नगरभित्रका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दरखास्त आह्वान गरेको छ।
नगरपालिकाका अनुसार, नगर क्षेत्रभित्र रहेका विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत अवसर उपलब्ध गराइनेछ। सोमध्ये ३३ प्रतिशत छात्रवृत्ति नगरपालिकाको विशेष निर्णय अनुसार छनोट गरिनेछ। आर्थिक अवस्था कमजोर भएका, मेहेनती र योग्य विद्यार्थीहरूका लागि यो छात्रवृत्ति एउटा महत्वपूर्ण अवसरको रूपमा लिइएको छ। यसले विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुका साथै आर्थिक भार कम गर्ने विश्वास गरिएको छ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले “संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४” अनुसार आवश्यक प्रक्रिया पूरा गरी भक्तपुर नगरपालिका शिक्षा शाखा, ब्यासीमा निवेदन दिनुपर्नेछ।
आवेदन फारम २०८२ असार १८ गते बिहीबारदेखि वितरण सुरु गरिएको छ र २०८२ असार ३० गते सोमबारसम्म आवेदन दिन सकिनेछ। तोकिएको म्यादपछि दोब्बर दस्तुर तिरेर २०८२ साउन २ गते शुक्रबारसम्म आवेदन दिने सकिने जनाइएको छ।
छात्रवृत्ति छनोटका लागि लिखित परीक्षा २०८२ साउन १० गते शनिबार बिहान ७:३० बजे ख्वप माध्यमिक विद्यालय, देकोचामा सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ।
भक्तपुर नगरपालिकाले योग्य र मेहनती विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्न यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।