


भक्तपुर, १८ असार — नेपाली कांग्रेस पार्टी भक्तपुरको विशेष सहयोग तथा जी.पी. फाउन्डेसनको आयोजनामा नेपाली कांग्रेसका सर्वोच्च नेता तथा शान्ति प्रक्रियाका शिल्पी स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०२औं जन्मजयन्ती भक्तपुरमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा पूर्वमन्त्री महेश आचार्य, संघीय संसद प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्य, प्रदेश सांसद सुरेश श्रेष्ठ, पूर्वमन्त्री कृष्णलाल भडेल, सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्र थापा लगायत दर्जनौँ नेता, कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको तस्वीरमा पुष्पमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जलीसहित गरिएको थियो।
सभामा बोल्दै सांसद दुर्लभ थापाले स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै भने, “माओवादीसहित तत्कालीन सबै विद्रोही शक्तिहरुलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको अद्वितीय भूमिका रह्यो। उनले राष्ट्रिय सहमति, लोकतन्त्र, गणतन्त्र र समावेशी राज्य निर्माणमा ऐतिहासिक निर्णयहरू गर्नुभयो।”
अन्य वक्ताहरूले पनि कोइरालाको जीवन, सिद्धान्त र नेतृत्व क्षमताको प्रशंसा गर्दै वर्तमान राजनीतिक दिशामा उहाँको विचार र मूल्यको आवश्यकताको चर्चा गरे।
कार्यक्रमले गिरिजा बाबुको विचारलाई नयाँ पुस्तामा सन्देश पुर्याउने र कांग्रेस पार्टीलाई लोकतान्त्रिक मूल्यमा पुनः एकताबद्ध गर्ने सन्देश दिएको बताइएको छ।