

भक्तपुर, असार १६
भक्तपुरको चाँगुनारायण–८ सुडालस्थित इँटाभट्टाको टहरामा बस्दै आएकी गोमा श्रेष्ठले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए ल्याएर चाँगुनारायण नगरपालिकाकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छिन्। उनले भक्तपुर जिल्लाभरका ३० उत्कृष्ट विद्यार्थीको सूचीमा समेत स्थान बनाएकी छन्।
चार वर्षको उमेरमा रामेछापको खनियाँपानीबाट परिवारसहित भक्तपुर आएकी गोमाको बाल्यकाल आर्थिक अभाव र कठिन परिस्थितिमा बित्यो। उनका बुबा मीनबहादुर श्रेष्ठ रोजगारीको खोजीमा खनियाँपानी छाडेर भक्तपुरको इँटाभट्टामा श्रमिक बने। गोमाको पढाइप्रतिको लगाव देखेर उनले छोरीलाई महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गराए।
दिउँसो विद्यालय जान्ने, बिहान र बेलुका इँटाभट्टामा आमाबुबालाई सघाउने कार्य गोमाको दैनिक तालिका बन्यो। टहराको जस्ताको छानोमुनि टेकेर, टुकीको उज्यालोमा पढेर उनले आफ्ना सपनालाई उज्यालो बनाउने अठोट लिइन्। कक्षा १० मा पुगेर उनले अध्ययनमा अझै बढी ध्यान दिन थालिन् र परिश्रमकै बलमा एसईईमा जिल्लाकै उच्चतम जिपिए ल्याउन सफल भइन्।
गोमाको लक्ष्य एमबिबिएस पढेर दक्ष चिकित्सक बन्ने र विपन्न वर्गको सेवा गर्ने हो। “डाक्टर बनेर त्यो वर्गलाई सेवा गर्न चाहन्छु, जसको अवस्था मेरोजस्तै हो,” उनले भावुक हुँदै भनिन्।
विद्यालयका शिक्षकहरू पनि गोमाको मेहनत र समर्पणबाट प्रभावित छन्। प्रधानाध्यापकले गोमालाई उदाहरणीय विद्यार्थी भन्दै नगरपालिकाद्वारा उचित सम्मान र छात्रवृत्तिको व्यवस्था गर्न माग गरेका छन्।
गोमा श्रेष्ठको सफलताको कथा संघर्ष र दृढ इच्छाशक्तिले भरिएको छ। उनले प्रमाणित गरिन्– असल सपना हेर्ने आँखा भए, टहराको छानामुनिबाट पनि तारा छुने सकिन्छ।
