Skip

News Portal

  • नेसनल प्याब्सन भक्तपुरद्वारा वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ आषाढ १०
    ७५ पटक

    भक्तपुर, असार ८

    नेसनल प्याब्सन भक्तपुरले शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि आयोजना गरेको वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। प्रशिक्षणमा भक्तपुर जिल्लास्थित सदस्य विद्यालयहरूमा कार्यरत ३४१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

    नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काका अनुसार शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउनका लागि नियमित तालिम अपरिहार्य भएकोले संगठनले निरन्तर यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाकारी दिएका छन्। उनका अनुसार यसपालिको तालिमले कक्षा ४ देखि ८ सम्मका नेपाली, गणित, विज्ञान र सामाजिक विषयका शिक्षकहरूलाई पाठ्यक्रम, शिक्षण विधि र सिकाइ उपलब्धिका पक्षमा सशक्त बनाएको उनको धारणा रहेको छ।

    विभिन्न मितिमा गरिएका प्रशिक्षणहरू यस्ता छन्:

    जेठ २४ गते शनिबार: कक्षा ४ देखि ८ का गणित विषयका शिक्षकहरूलाई डा. रमेश प्रसाद अवस्थीद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। सामाजिक विषयका शिक्षकहरूलाई जीवनराज पन्थी र प्रभाति किरणले सहजीकरण गरेका थिए।

    जेठ ३१ गते शनिबार: सदस्य विद्यालयहरूका लेखापालहरूलाई व्यवस्थित लेखा प्रणाली र करसम्बन्धी जानकारीका लागि सी.ए. सुनिल श्रेष्ठले अभिमुखीकरण गराए।

    असार ७ गते शनिबार: पूर्व प्राथमिक तहका शिक्षकहरूलाई शैक्षिक दृष्टिले सशक्त बनाउन डा. मिनाक्षी दाहालले प्रशिक्षण दिइन्। सोही दिन नेपाली विषयका शिक्षकहरूलाई प्रो. डा. ध्रुव कुमार घिमिरे र विज्ञान विषयमा डा. चिन्तामणी पन्थीले प्रशिक्षण दिएका थिए।

    तालिम उपसमिति संयोजक रमेश प्रसाद सिटौलाले विगत वर्षहरूदेखि नै शिक्षकहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गरिने जानकारी दिए।

    कार्यक्रम सफल बनाउन विभिन्न संस्थाहरूले सहकार्य गरेका थिए। सत्यशक्ति पुस्तक भण्डारका महेश थापा, यूरेका पब्लिकेशनका बी.एन. पण्डित, ग्रीन बुक्सका विजयकृष्ण महर्जन, तथा ओएसिस पब्लिकेशनका हरिशचन्द्र विष्टलाई विशेष धन्यवाद दिँदै नेसनल प्याब्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले आभार व्यक्त गरे।

    यो प्रशिक्षण कार्यक्रमले शिक्षकहरूमा नयाँ ऊर्जा, सीप र शैक्षिक समझ प्रदान गरेको भन्दै सहभागीहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। नेसनल प्याब्सन भक्तपुरले आगामी दिनहरूमा अझ प्रभावकारी र व्यावसायिक तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्