News Portal

  • बेपत्ता सवालमा राज्यले जालसाजी गर्‍यो : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ आषाढ ३
    ४३ पटक

    बेपत्ता सवालमा राज्यले जालसाजी गर्‍यो : महासचिव विप्लव

    काठमाडौं, असार २ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले बेपत्ता नागरिकहरूको सवालमा जालसाजी गरेको आरोप लगाएका छन्।

    बेपत्ता परिवार समाज नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘बेपत्ताहरूको सार्वजनिकरणको प्रश्न’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै महासचिव विप्लवले बेपत्ता पीडितलाई न्याय दिने विषयमा राज्यको भूमिका गैरजिम्मेवार रहेको बताएका हुन्।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विप्लवले राज्यले बेपत्ता मुद्दामा आयोग बनाउने र भत्काउने काम दोहोर्‍याएर आन्दोलन र पीडितविरुद्ध षड्यन्त्रपूर्ण नीति अख्तियार गरेको दाबी गरे। “राज्यको नियत नै पीडितप्रति अन्यायपूर्ण र बदनियतपूर्ण देखिन्छ,” उनले भने, “बेपत्ता सवाल राष्ट्रिय प्रश्न हो। यसलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न मिल्दैन।”

    महासचिव विप्लवले आयोग गठनको सुरुआती चरणमै पीडित, नागरिक समाज र मानव अधिकारकर्मीहरूको प्रश्न उठेको उल्लेख गर्दै पीडितको प्रतिनिधित्व सुनिश्चित गरी सहमतिको आधारमा आयोग गठन हुनुपर्नेमा जोड दिए। उनले यस विषयमा प्रधानमन्त्री तथा सरकारसँग गम्भीर हुन आग्रह पनि गरे।

    उनले माओवादी आन्दोलनमा विभाजन आउनुका कारणमध्ये बेपत्ता योद्धा, सहिद परिवार तथा घाइते योद्धाको सवालप्रति दृष्टिकोण फरक हुनु पनि एक कारण भएको बताए। “हामी योद्धा र जनताको मुद्दालाई किनबेच गर्ने होइन, निरन्तर क्रान्तिको बाटोमा अघि बढ्ने पक्षमा छौं,” विप्लवले भने।

    देशको समसामयिक राजनीतिक ध्रुवीकरण र एकीकरणका संकेत गर्दै महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलन समग्र रूपमा रुपान्तरण गर्दै एकता आवश्यक रहेको धारणा आफूले राखेको उल्लेख गरे।

    “माओवादी मात्र होइन, समग्र राजनीतिक आन्दोलनहरू नै भ्रष्टिकरणतर्फ गएका छन्,” विप्लवले भने, “सुरुमा जनताको पक्षमा ठूला मुद्दा उठाउने, तर सत्तामा पुगेपछि त्यही जनतालाई धोका दिने प्रवृत्तिले वर्तमान संकट गहिरिएको छ।”

    अब राजनीति कुनै दलको भाषण र नाराबाट होइन, श्रम, पसिना, जनताको विश्वास र मूर्त उपलब्धिका आधारमा मूल्यांकन हुने समय आएको बताउँदै उनले त्यस अभियानको नेतृत्व आफ्नो पार्टीले गर्ने स्पष्ट पारे।

     

    प्रतिकृया दिनुहोस्