News Portal

  • प्रगतिशील लेखक सङ्घको दोस्रो पूर्ण बैठक सम्पन्न : संरचना सुदृढीकरणदेखि भवन निर्माणसम्मका महत्वपूर्ण निर्णय

    दोलागिरि संवाददाता२०८२ जेठ २५
    १७७ पटक

    काठमाडौं, २०८२ असार २४
    प्रगतिशील लेखक सङ्घ १३औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ।

    बैठक सङ्घका अध्यक्ष डा. देबी क्षेत्री ‘दुलाल’को अध्यक्षता र निवर्तमान अध्यक्ष मधुसूदन गीरीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। बैठकले सङ्गठनको वैचारिक, रचनात्मक र सांगठनिक पक्षहरूलाई मजबुत पार्ने उद्देश्यले विविध महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ।

     

    १. सल्लाहकार समिति पुनर्गठन

    सङ्घका पूर्व अध्यक्ष, वरिष्ठ स्रष्टा तथा साहित्यिक व्यक्तित्वहरूको सहभागितामा ४० सदस्यीय सल्लाहकार समिति पुनर्गठन गरिएको छ। यस समितिमा विभिन्न पुस्ताका अनुभवसम्पन्न स्रष्टाहरूलाई समेट्दै वैचारिक मार्गदर्शन र सृजनात्मक सल्लाह सुनिश्चित गरिने निर्णय गरिएको छ।

    २. कार्यविभागहरूको गठन

    संघको आगामी कार्ययोजना स्पष्ट पार्दै विविध कार्यक्षेत्रमा विभागगत जिम्मेवारी तोकिएको छः

    अन्तर्राष्ट्रिय विभाग : संयोजक – अध्यक्ष डा. देबी क्षेत्री ‘दुलाल’

    प्रकाशन विभाग : संयोजक – महासचिव पारश ढकाल

    सूचना प्रविधि तथा प्रचार–प्रसार विभाग : संयोजक – सचिव कुशल बोगटी

    महिला विभाग : संयोजक – उपाध्यक्ष अमृता रेग्मी

    वैचारिक विमर्श तथा परिसंवाद विभाग : संयोजक – उपाध्यक्ष समर सिंह

    आर्थिक विभाग : संयोजक – कोषाध्यक्ष डा. कृष्ण सुवेदी

    ३. सपालय समिति गठन

    १५ सदस्यीय कार्यसम्पादन समिति (सपालय) गठन गरिएको छ, जसले केन्द्रीय निर्णयहरूको कार्यान्वयन र अनुगमन गर्नेछ।

    साथै, देशभरका सातवटै प्रदेशमा इन्चार्ज र सहइन्चार्जहरू नियुक्त गर्दै सङ्गठनको ढाँचालाई सुदृढ बनाइएको छः

    कोशी प्रदेश : इन्चार्ज – उपमहासचिव बोधप्रसाद घिमिरे, सहइन्चार्ज – लिला देवी

    मधेश प्रदेश : इन्चार्ज – कोषाध्यक्ष डा. कृष्ण सुवेदी, सहइन्चार्ज – दिनेश दुलाल

    बागमती प्रदेश : इन्चार्ज – महासचिव पारश ढकाल, सहइन्चार्ज – आरोह नेपाली

    गण्डकी प्रदेश : इन्चार्ज – उपाध्यक्ष अमृता रेग्मी सहइन्चार्ज निर्मल सापकोटा ,

    लुम्बिनी प्रदेश : इन्चार्ज – सचिव हरि प्रसाद तिमिल्सिना सहइन्चार्ज कल्पना जिज्ञासु

    कर्णाली प्रदेश : इन्चार्ज – सचिव कुशल बोगटी, सहइन्चार्ज – प्रकाश किरण

    सुदूरपश्चिम प्रदेश : इन्चार्ज – उपाध्यक्ष समीर सिंह, सहइन्चार्ज – रमेश पन्थी मित्रबन्धु

    ४. केन्द्रीय भवन निर्माणको निर्णय

    सङ्घको स्थायित्व र भौतिक पूर्वाधार विकासलाई सुनिश्चित गर्न स्थायी केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरिएको छ। भवन निर्माण कोष स्थापना गरिने र स्रोत संकलनका लागि विशेष अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ।

    ५. महासचिवको प्रतिवेदन पारित

    बैठकमा महासचिव पारश ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन गहन छलफलपश्चात सर्वसम्मतिले पारित गरिएको छ। प्रतिवेदनमा विगत गतिविधिहरूको समीक्षा, चुनौतीहरू, उपलब्धिहरू र भावी कार्ययोजनाको रूपरेखा प्रस्तुत गरिएको थियो।

    ६. वैचारिक स्पष्टता र रचनात्मक अभियान सुदृढीकरणमा जोड

    बैठकमा समकालीन सांस्कृतिक तथा वैचारिक चुनौतीका सन्दर्भमा गहन छलफल भएको थियो। प्रगतिवादको सिद्धान्तलाई अझ स्पष्ट र गहिरो रूपमा आत्मसात गर्दै सृजनात्मक आन्दोलनलाई सशक्त बनाउने अठोट बैठकमा अभिव्यक्त गरिएको थियो ।

    बैठकमा देशभरका केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सदस्यहरूबीच सक्रिय बहस र सुझावको आदान–प्रदानका माध्यमबाट संगठनको वर्तमान र भावी दिशाबारे स्पष्ट नीति निर्माण गरिएको थियो।

    बैठकको समापन गर्दै अध्यक्ष डा. देबी क्षेत्री ‘दुलाल’ले भन्नुभयो,  “यो बैठक केवल सांगठनिक औपचारिकता होइन, वैचारिक प्रतिबद्धता र सृजनात्मक उत्तरदायित्वको पुनः पुष्टि हो। हामी सृजनात्मक आन्दोलनलाई वैचारिक गहिराइमा उभ्याएर नयाँ दिशा दिने तयारीमा छौं।” भन्दै वैठक समापन गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्