News Portal

  • नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ ९
    ९ पटक

    भक्तपुर, बैशाख ११। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा मोबाइल पत्रकारिता (मोजो) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    सूर्यविनायकस्थित आयोजित कार्यक्रममा उद्घाटन गर्दै नगरप्रमुख वासुदेव थापाले सूनपा (सूर्यविनायक नगरपालिका) नयाँ नगरपालिका भए पनि विविध चुनौतीबीच जनहितका कामहरू प्रभावकारी ढंगले अघि बढाइएको बताए। सञ्चार क्षेत्र विकास निर्माणका कार्यहरूमा महत्वपूर्ण सहयोगी रहेको उल्लेख गर्दै उनले नगरवासीले तिरेको कर र निर्वाचित जनप्रतिनिधिले बनाएका ऐन, नियमको मर्यादामा रही स्वच्छ प्रशासन सञ्चालन भइरहेको जानकारी दिए।

    नगरपालिकाले पत्रकारहरूको पेशागत तथा संरचनागत विकासका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै नगरप्रमुख थापाले पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराइसकेको र निकट भविष्यमा आर्थिक सहयोगसमेत सुनिश्चित गरिने बताए। साथै, काँक्राबारी क्षेत्रको प्लटिङ्ग सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै उनले तथ्यहीन, भ्रामक तथा चरित्र हत्या गर्ने शैलीको पत्रकारिताप्रति कारबाहीको चेतावनी समेत दिए।

    पत्रकारहरूको क्षमता अभिवृद्धिको उद्देश्यले मोबाइल पत्रकारिता विषयक अभिमुखीकरण आयोजना गरिएको उल्लेख गर्दै उनले बदलिँदो समयअनुसार सञ्चार माध्यमहरू प्रविधिमा आधारित हुँदै गएकाले पत्रकारले आफूलाई पनि समयानुकूल अपडेट राख्नुपर्ने बताए।

    कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराईले पत्रकारिता लोकतन्त्रको चौथो अङ्गका रूपमा जनताको सूचना अधिकारलाई सुनिश्चित गर्ने माध्यम भएको बताउँदै सूर्यविनायक नगरपालिकाका गतिविधिहरूलाई प्रचारप्रसार गरी जनतालाई सुसूचित बनाइदिएकोमा धन्यवाद दिइन्। उनले डिजिटल पत्रकारिताको सम्भावना र चुनौतीबारे जानकारी दिँदै बदलिँदो प्रविधिको सदुपयोग गर्न आग्रह गरिन्।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरूको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्न यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। साथै, डिजिटल पत्रकारिताको दुरुपयोगप्रति सचेत रहन आग्रह गर्दै उनले समाचारको सत्यता र विश्वसनीयता कायम राख्न आग्रह गरे।

    कार्यक्रममा प्रशिक्षक विकास कार्कीले मोबाइल पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापनमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले भक्तपुर शाखा लामो समयपछि सक्रिय रूपमा अघि बढिरहेको देख्दा खुसी लागेको बताए। उनले प्रविधिको प्रयोगसंगै मूल्य र मर्यादामा आधारित पत्रकारिता आवश्यक रहेको धारणा व्यक्त गरे।

    कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्