News Portal

  • ऋतम्भरा पाठशालामा दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ ४
    ३२ पटक

    भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित ऋतम्भरा पाठशालाले पूरक प्रावि तह (युकेजी) उत्तीर्ण गरी कक्षा १ मा पदोन्नति भएका ४५ जना विद्यार्थीहरूलाई दिक्षान्त प्रदान गर्दै एक भव्य समारोह सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाले ऋतम्भरा पाठशालाले शैक्षिक क्षेत्रमा मात्रै नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको खुलेर प्रशंसा गरे। उनले पछिल्लो पटक जिल्ला खेलकुदले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाठशालाका छात्राहरूले प्रस्तुत गरेको नृत्यले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत प्रभावित पारेको उल्लेख गरे। “मन्त्रीज्यूले त्यो दिन भन्नुभएको थियो– देशका कुनाकाप्चामा पनि नृत्य कला होस् त ऋतम्भराका बहिनीहरूजस्तो होस्,” अध्यक्ष थापाले स्मरण गरे।

    थापाले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अपरिहार्य मान्दै विद्यालयहरूमा अनिवार्यरूपमा खेलकुद समावेश गर्नुपर्ने धारणा राखे। उनले आवश्यक खेलकुद सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रममा नेशनल प्याब्सनका प्रतिनिधि सञ्जय खड्काले विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीचको त्रिकोणात्मक सहकार्यले मात्र गुणस्तरीय शिक्षाको सम्भावना साकार हुने धारणा राखे। उनले भने, “जुन विद्यालयले जग हाल्छ, घर र छानाको जिम्मेवारी पनि अभिभावकहरूले लिनैपर्छ।” साथै, रत्न राईले अभिभावकहरूलाई मोबाइल र जंक फुडबाट टाढा राखेर बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन आग्रह गरे।

    पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले स्थापना भएको छोटो समयमै विद्यालयले उल्लेखनीय प्रगति गरेको बताउँदै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनमा ल्याउन लागिएको जानकारी दिइन्। “हामीले मानविकी र व्यवस्थापन संकायमा प्लस टु सञ्चालनको स्वीकृति पाएका छौं, चाँगुनारायण नगरपालिकामै प्लस टु सञ्चालन गर्ने पहिलो निजी तथा संस्थागत विद्यालय बन्ने गौरव हामीलाई प्राप्त भएको छ,” उनले भनिन्।

    उनले विद्यालयको प्रमुख प्राथमिकता गुणस्तरीय शिक्षा रहेको स्पष्ट पार्दै अतिरिक्त क्रियाकलापका लागि सम्बन्धित क्षेत्रमा दक्ष प्रशिक्षकहरू नियुक्त गरिएको जानकारी दिइन्। “अभिभावकहरूको विश्वास हाम्रो शक्ति हो, त्यसलाई प्रतिफलमा बदल्न हामी निरन्तर लागिरहेका छौं,” उनले थपिन्।

    कार्यक्रममा नगरप्रमुख जीवन खत्रीको दृष्टिकोण पनि स्मरण गरियो, जसअनुसार नगरपालिका भित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराई विद्यार्थीहरूलाई नगरबाहिर जान नपर्ने वातावरण बनाउनु पर्नेमा बल दिइएको छ। सरोकारवाला पक्षले पनि चाँगुनारायण नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरूले ऋतम्भरा पाठशालामै प्लस टु पढाउन विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।

    यसरी, ऋतम्भरा पाठशालाले बालशिक्षादेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक यात्रा सुनिश्चित गर्दै स्थानीय तहमा शैक्षिक उत्कर्षको एउटा सशक्त उदाहरण प्रस्तुत गरेको छ।

     

    प्रतिकृया दिनुहोस्