
काठमाडौं, वैशाख २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा ओलीले सारगर्भित जवाफ दिएका हुन्। प्रधानमन्त्री ओलीले देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने उद्देश्यसहित १० मूल नीतिमा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको बताए। उनले आफ्नो सम्बोधनमा राजतन्त्र पक्षधर, सामाजिक सञ्जालका प्रयोगकर्ता, र प्रतिपक्षी दलहरू गरी मुख्यतया तीन पक्षलाई लक्षित गरेका छन् ।
राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै ओलीले सामन्ती शासनको अन्त्य भइसकेको र लोकतान्त्रिक प्रणालीलाई पुनःस्थापित गर्ने प्रयास असफल हुने बताए। उनले भने, “तिथि मिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाविरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको छ।” सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै उनले स्टार्टअप कार्यक्रममार्फत युवाहरूलाई उद्यमशील बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने योजना प्रस्तुत गरे। उनले भने, “सामाजिक सञ्जालका फेक एकाउन्टहरूमा अलमलिएका युवाहरूलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु।”
प्रतिपक्षी दलहरूको आलोचना गर्दै ओलीले संसदमा कार्यक्रम छुटेको, दोहोरिएको र कर्मकाण्डी भएको भनेर कटाक्ष गर्ने सांसदहरूलाई लक्षित गरे। उनले भने, “केही विपक्षका मान्यजीहरूले अलि टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभयो, म त्यतातिर जान चाहन्न।”नीति तथा कार्यक्रममा ओलीले विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव र यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरेका छन्।
यस सम्बोधनमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै देशको विकास र समृद्धिको दिशामा सरकारको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो ।
.