
सूर्यविनायक नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख बासुदेव थापाले नंखेलस्थित ग्रिन भिलेज हाउजिङमा रहेको सार्वजनिक जग्गामा पूजाआजा गर्दै भवनको शिलान्यास गरेसँगै निर्माण प्रक्रिया अगाडि बढाइएको हो।
वडा नं. १० को डिजाइनमा आधारित यो भवन साँढे तीन तल्ले हुनेछ। कुल २ रोपनी ४ आना क्षेत्रफलमा फैलिने उक्त भवनको निर्माण लागत भ्याटसहित १ करोड ८१ लाख ८० हजार ९१३ रूपैयाँ अनुमान गरिएको छ। निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख थापाले तोकिएको समयसीमा भित्रै भवन निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै सो भवनले वडा नं. ९ का बासिन्दालाई प्रभावकारी सेवा प्रवाहमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भई सञ्चालनमा आइसकेको तथा हालसम्म ८ वटा वडाका कार्यालय भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी वडा नं. १ र ९ को भवन निर्माणपछि सम्पूर्ण वडाको आफ्नै कार्यालय भवन रहने बताए।
कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष भगवान खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की, वडा नं. ३ का दीपेन्द्र केसी, वडा नं. ४ का लछुराम न्यौपाने, वडा नं. ५ का राजकुमार जोशी, वडा नं. ६ का ईश्वर खड्का, वडा नं. ७ का पुष्पराज बस्नेत, वडा नं. १० का शिवराम खत्री लगायत जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।