

भक्तपुर, बैशाख ३ – भक्तपुरको सल्लाघारी तीनकुनेस्थित १०८ रोपनी क्षेत्रफलमा जारी नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव दर्शकहरूको भव्य उपस्थितिका साथ सम्पन्न भइरहेको छ। पछिल्लो तीन दिनमा मात्रै झण्डै १ लाख ५० हजारभन्दा बढीले महोत्सव अवलोकन गरेका छन्।
चैत २८ गतेदेखि सुरु भई बैशाख ७ गतेसम्म सञ्चालन हुने ११ दिने महोत्सवको आयोजना औद्योगिक शान्ति नेपाल संस्थाले गरेको हो। संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार नयाँ वर्षको आगमनसँगै महोत्सवमा उल्लेखनीय भिडभाड बढेको हो।
दैनिक जीवनसँग जोडिएका सम्पूर्ण वस्तुको व्यापारिक केन्द्र
महोत्सवमा दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरू बिक्री वितरणका लागि राखिएका छन्। त्यस्तै, औद्योगिक उत्पादनदेखि सूचना तथा प्रविधि, अटोमोबाइल र आधुनिक कृषि उपकरणको प्रदर्शनी तथा व्यापार सञ्चालनमा छन्। मोवाइल र इलेक्ट्रोनिक्स सामानका छुटसहितका स्टलहरू पनि आकर्षणको केन्द्र बनेका छन्।
स्थानीय स्वाद, लोक संस्कृतिदेखि आधुनिक मनोरञ्जनसम्म
संयोजक दीपक थापाका अनुसार महोत्सवमा स्थानीय हस्तकला र कृषि उत्पादनलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ, खेलौनाका स्टल, रोटे पिङ, रेनजर र मारुती सर्कसले परिवारसहित आउने दर्शकलाई लोभ्याइरहेका छन्।
स्थानीय खानाको स्वाद चाख्न ‘स्थानीय खाना महोत्सव’ सञ्चालनमा छ भने सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हरेक साँझ दर्शकलाई तानिरहेको छ। नवप्रतिभालाई प्रोत्साहन गर्न हाँस्यव्यङ्ग्य, गीत-संगीत र नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ।
बिक्रीमा विशेष छुट, चर्चित कलाकारको प्रस्तुति पनि
कुल १५० वटा स्टल रहेको महोत्सवमा बिक्री हुने वस्तुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। बैशाख १३ गते ‘भक्तपुर सांगीतिक साँझ–२०८२’ अन्तर्गत चर्चित गायक-गायिकाहरूको विशेष प्रस्तुति समेत रहने जानकारी आयोजक महतले दिएका छन्।
भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक पहिचानलाई एकै थलोमा झल्काउने यो महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धनका साथै आम नागरिकको रमाइलो गन्तव्यको रुपमा आफूलाई स्थापित गरिरहेको छ।