

काठमाडौँ, वैशाख १ – निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेशनल अस्पताल आजदेखि ३३ औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९३ मा ‘नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टर’का रूपमा स्थापना भएको अस्पताल तीन दशकको अवधिमा नेपालकै उत्कृष्ट मल्टी-स्पेसियालिटी अस्पताल बन्न सफल भएको दाबी गरिएको छ।
नर्भिकले आफ्नो स्थापनाको चार वर्षपछि, सन् १९९७ मा भारतको प्रतिष्ठित स्कर्ट हर्ट इन्स्टिच्युटसँगको सहकार्यमा ‘हर्ट कमाण्ड सेन्टर’ स्थापना गरेको थियो। त्यसपछि सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गर्दै सेवा विस्तारको क्रम जारी राखेको थियो।
विस्तार र नवीनतम सेवा
सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी तथा सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा ‘गंगादेवी चौधरी क्याथल्याब’, २०१३ मा गाइनोलोजी र सन् २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको उल्लेख गरिएको छ।
अस्पतालले हाल सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य समस्या, बालस्वास्थ्य, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, प्लास्टिक सर्जरी, अर्थोपेडिक र पिडियाट्रिक अर्थोपेडिक सेवाहरूसमेत प्रदान गरिरहेको छ।
जटिल समस्या र सफल उपचार
हालैका दिनहरूमा अस्पतालमा विभिन्न जटिल समस्याहरूको पनि सफल उपचार भएको बताइएको छ। टाउकोमा पानी जम्ने समस्यामा ‘प्रोग्रामेबल शन्ट सिस्टम’ प्रविधिबाट उपचार गरिएको र पहिलोपटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल सर्जरी सम्पन्न भएको अस्पतालको प्रेस नोटमा उल्लेख छ।
त्यस्तै, ‘बड चियारी सिन्ड्रोम’ जस्तो कलेजोसम्बन्धी जटिल समस्याको पनि सफल उपचार गरिएको छ भने चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु गरिएको छ।
आपतकालीन सेवा र पूर्वतयारी
नर्भिकले सब-स्पेसियालिटी को रूपमा विकसित हुँदै गएको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाएको छ। इमर्जेन्सीमा एमडी तहका चिकित्सक, मेडिकल अफिसर, नर्स र सिनियर प्यारामेडिकल टिम चौबिसै घण्टा खटिएको जनाइएको छ।
प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ। साथै, हेलिकप्टरमार्फत उद्धार सेवा पनि सञ्चालनमा ल्याइएको छ।
भविष्यका योजना
अस्पतालले तीन दशकको अवधिमा २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको र हालसम्म सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई उपचार प्रदान गरिसकेको दाबी गरिएको छ।
हाल १४० बेड क्षमतामा सञ्चालनमा रहेको नर्भिक अस्पतालले सन् २०२५ भित्रै सम्पन्न गर्ने लक्ष्यसहित ८ तले अत्याधुनिक भवन निर्माणको काम अघि बढाएको छ। उक्त भवन निर्माणपछि अस्पतालको सेवा क्षमता ३०० बेडसम्म पुर्याइनेछ।
सन् २०२१ को जुलाई १७ देखि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको अस्पतालले निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।