News Portal

  • भक्तपुरमा सिन्दुर जात्राको रौनक

    भक्तपुरमा सिन्दुर जात्राको रौनक

    दोलागिरि संवाददाता२०८२ बैशाख २
    ११ पटक

    भक्तपुर, वैशाख २, २०८२ — भक्तपुरको मध्यपुरथिमीमा मंगलबार परम्परागत हर्षोल्लासका साथ सिन्दुर जात्रा (स्थानीय भाषामा सुथः सिया जात्रा) भव्य रूपमा मनाइएको छ। बिस्केट जात्राको अवसर पारेर मनाइने यो जात्रा मध्यपुरथिमी क्षेत्रकै सबैभन्दा प्रसिद्ध जात्राका रूपमा चिनिन्छ।

    सांस्कृतिक मौलिकतासँग गहिरो सम्बन्ध राख्ने सिन्दुर जात्रा बिहानैदेखि सुरू भएको थियो। थिमीको बालकुमारी मन्दिरबाट बालकुमारी र कालिकाको खट निकालिएपछि, सिद्धिकालीको खट ल्याएर बालकुमारीलाई गणसहित मन्दिर प्रवेश गराइएपछि जात्राको विधिवत् रूपमा सुरुआत गरिएको हो।

    सिन्दुर जात्रामा ३२ वटा खट सहभागी थिए — तीमध्ये २३ वटा खट थिमी क्षेत्रका थिए भने बाँकी ९ वटा नगदेश, बोडे र टिगनी क्षेत्रबाट ल्याइएका थिए। देवदेवीका खटहरूलाई धिमेबाजा, काँया बाजा, भुस्या बाजाजस्ता परम्परागत बाजगाजाको साथ नगर परिक्रमा गराइएको थियो।

    मुख्य देवताहरू जस्तै बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, सिद्धिगणेश (नगदेश), महालक्ष्मी (बोडे) र नीलबाराही (टिगनी) लगायतका खटहरू टोल टोल घुमाइएका थिए। नगरका चोकचोक, चौबाटो, टोल र घर आँगनमा देवता पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छरिने र फूल बर्साइ स्वागत गर्ने परम्परा अनुसार स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए।

    यस जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने परम्परा रहेको छ। देवताको खट बोकेका जात्रालुहरू आपसमा सिन्दुर दलेर रुमानी वातावरण सिर्जना गर्दछन्। यही कारणले यो जात्रालाई ‘सिन्दुर जात्रा’ नामले चिनिन्छ।

    सिन्दुर जात्रा न केवल सांस्कृतिक, धार्मिक, र परम्परागत महत्व बोकेको छ, तर यसले स्थानीय समुदायको एकता, उत्सवप्रतिको श्रद्धा र सांस्कृतिक गर्वलाई पनि उजागर गर्छ।

     

    प्रतिकृया दिनुहोस्