
भक्तपुर, ३० चैत्र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुरको जिल्ला परीक्षा उपसमितिको आयोजनामा “नेक्स्ट जेन कक्षाकोठाका लागि डिजिटल लर्निङ इकोसिस्टम्स” शीर्षक कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न गरिएको छ।

शिक्षामा प्रविधिको प्रभावकारी उपयोग, नवीनतम डिजिटल समाधानहरू र भविष्यमुखी शिक्षण विधिहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्याब्सन भक्तपुर अन्तर्गतका सदस्य विद्यालयहरूका प्रिन्सिपल तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो।

कार्यक्रम डिजिस्कुल, मिडास एजुकेसन तथा स्पावर को सहकार्यमा सम्पन्न भएको हो। डिजिटल शिक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका यी संस्थाहरूको सहकार्यले कार्यक्रममा व्यावहारिकता र प्रविधिक क्षमता थपेको थियो।

कार्यक्रममा प्रविधिमैत्री शिक्षण विधिहरू, डिजिटल सामग्रीको उपयोग, स्मार्ट कक्षा कोठाको संरचना, तथा भविष्यका कक्षाकोठामा आवश्यक पर्ने पूर्वाधार र दक्षताको विषयमा गहिरो छलफल तथा प्रस्तुति भएको थियो। प्याब्सन भक्तपुरका अध्यक्ष श्री राजन कस्पाल ले कार्यक्रमको समापनमा सहभागी सबैजना तथा सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भन्नुभयो: “शिक्षामा गुणस्तर वृद्धि गर्न प्रविधिको समुचित प्रयोग अनिवार्य भइसकेको सन्दर्भमा, यस्तो कार्यक्रमले हाम्रो शिक्षा प्रणालीलाई नयाँ दिशा दिने विश्वास लिएको छु।”

कार्यक्रममा आफ्नो समय, ऊर्जा र सक्रिय उपस्थितिद्वारा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्याउनु हुने सम्पूर्ण शिक्षक, विद्यालय प्रमुख, व्यवस्थापक तथा सहयोगी संस्थाप्रति प्याब्सन भक्तपुर परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको थियो।

यस कार्यक्रमले डिजिटल शिक्षाको सम्भावनाहरूलाई उजागर गर्दै आगामी पुस्ताको शिक्षालाई अझ सशक्त र समावेशी बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको विश्वास गरिएको छ।










