
ललितपुर, २१ फागुन २०८१ – नेपाल कम्युनिस्ट पार्टी, ललितपुर जिल्ला समितिको आयोजनामा तथा बेपत्ता योद्धा परिवार समाजका संयोजक आदरणीय एकराज भण्डारीको प्रमुख आतिथ्यमा “जनक्रान्तिका महान् सहिद तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम” सम्पन्न भएको छ।

ललितपुरको ठेचोमा आयोजित उक्त कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला सेक्रेटरी क. ललित सी ले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गोदावरी नगर इन्चार्ज क. रत्न सी ले गर्नुभएको थियो।

कार्यक्रममा ललितपुर जिल्लाबाट जनयुद्धका क्रममा सहादत प्राप्त गरेका तथा बेपत्ता योद्धाका परिवारलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो। सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँगै नेकपाका विभिन्न नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूको बलिदानलाई सम्मान गर्दै, उनीहरूको योगदानको उच्च कदर गर्दै अगाडि बढ्नुपर्ने कार्यक्रमका वक्ताहरूले जोड दिए। सहिद तथा बेपत्ता योद्धाहरूका परिवारजनलाई ऐक्यबद्धता जनाउँदै, उनीहरूको संघर्ष र योगदानको सम्झनामा पार्टीले निरन्तर रूपमा कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज क. विपिन सी केन्द्रीय सदस्य क. ममता सी, केन्द्रीय प्रतिनिधि समितिका सदस्य क. अनुप सी, नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर इन्चार्ज क. बज्र सी, गोदावरी नगर इन्चार्ज क. न्हुच्छे बहादुर महर्जन, वडा नं. १२ का अध्यक्ष जगत बहादुर महर्जन, अन्य नेताहरू तथा स्थानीय अग्रजहरूको उपस्थिति थियो।

सहिद तथा बेपत्ता योद्धाका परिवारका सदस्यहरूलाई विशेष रूपमा सम्मान गरिएको यस कार्यक्रममा सहिद यदु घिमिरेकी छोरी अश्मि घिमिरे, बेपत्ता योद्धा राजेन्द्र मालीकी आमा मोहन माया माली, बेपत्ता योद्धा बाबुराजा मालीकी आमा रत्न कुमारी माली, बेपत्ता योद्धा नन्द गोपाल मालीकी छोरी नग्मा माली, बेपत्ता योद्धा गोपाल नगरकोटीका भाइ नेपाल नगरकोटी लगायतका परिवारजन उपस्थित थिए।

उक्त सम्मान कार्यक्रममा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूको योगदानको उच्च मूल्यांकन गर्दै, पार्टीले आगामी दिनमा उनीहरूको सपना साकार पार्न अझै दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।










