News Portal

  • आज गण्डकीसहित पाँच प्रदेशमा वर्षा र हिमपात हुने

    दोलागिरि संवाददाता२०८० माघ २१
    ९४ पटक

    पोखरा । आज नेपालका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुनेछ ।

    यस्तै, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुनेछ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।

    अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जानेछ र बदली, वर्षा र हिमपात हुनेछ ।

    यसको असर सोमबारसम्म देखिने र सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने बताइन्छ ।

    वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

    तापक्रम घटेर चिसो हुने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ । यसअघि १८ माघमा पनि गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशमासमेत वर्षा र हिमपात भएको थियो ।

    प्रतिकृया दिनुहोस्