News Portal

  • तीनदिने मध्यपुर महोत्सव २०८१आजबाट सुरु

    दोलागिरि संवाददाता२०८१ पौष १२
    ६ पटक

    भक्तपुर २०८१ पुस १२ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव २०८१भब्यरुपमा सुरु भएको छ । उक्त महत्सवको उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरको बालकुमारी चोकमा एक समारोहवीच उदघाटन गरेका छन् ।
    महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुयाउनु रहेको जनाइयो । यसका वस्तुगत उद्देश्यहरुमा नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने जनाइयो ।

    महोत्सव सञ्चालन हुने मुख्य स्थानहरुमा थिमि शंखधरचोकबाट शुरु गरेर महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी हेर्न बालकुमारी, चपाचो, नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुने जानकारी गराईएको छ । महोत्सवमा नगरका विभिन्न स्थानमा तीन सय ४७ स्टलहरु रहने निश्चित भएको जनाइएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ । साँस्कृतिक बाजागाजातर्फ २६ प्रदर्शनी हुनेछ भने नेपाली मुद्रा एवम् सिक्काहरुको प्रदर्शनी नगदेश र बोदेमा हुने व्यवस्था गरिएको छ ।

    नेवारी संस्कार र भेषभुषा प्रदर्शनी ५, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी ४, माटोका भाँडाकुँडा र सेरामिक्स प्रदर्शनी १६, मूर्ति र मूर्तिकला प्रदर्शनी ४, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल ५०, पुस्तक प्रदर्शनी ४, परम्परागत खेल प्रदर्शनी २, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी ४५ स्थानमा रहनेछ ।घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको बालकुमारी र चापाचो गरी दुई स्थानमा हुने प्रदर्शनीमा १२० स्टल रहने छ । ऐतिहासिक जात्रा, पर्व र नाचको डेमो प्रदर्शनी ७ स्थानमा रहने छ ।

    ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर (साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसी नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाच प्रदर्शनीको व्यवस्था गरिएको छ । सांस्कृतिक बाजागाजा प्रदर्शनीतर्फ गुँला बाजा, घिन्ताङ्गघिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बासुरी बाजा, दाफा भजन र अन्य भजनकीर्तन प्रदर्शनीतर्फ कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजन रहने छ ।
    मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो । यसका साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगितालगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव नगरपालिकासँंग छ ।

    यिनै परिदृष्य र अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना हने बताइयो । स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइन नगरपालिकाको भनाई छ ।

     

    प्रतिकृया दिनुहोस्