१९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँग मिलेर चुनाव लड्दालड्दा माओवादीको पहिचान नै संकटमा परेको बताएका छन् ।
पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब आउने चुनावमा सबै ठाउँमा माओवादीले एक्लै उम्मेदवारी दिने बताए ।
‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दालड्दा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं’, उनले भने । उनले यही सन्देश दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।