१० असोज, काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।
गोली लागेर उनका बुवा घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको हो । ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई बाँया हातमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
बुवा र श्रीमतीलाई गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी हरिपुर्वाले जनाएको छ । घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ ।
घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।