
भाद्र सात गते म मानसरोवर–कैलाश यात्राका लागि निस्किएको थिएँ। यात्रामा हामी १८ जनाको एउटा टोली थियौँ। मनमा एउटै अभिलाषा थियो । जीवनमा एकपटक कैलाशको दर्शन गर्ने मानसरोवरको पवित्र जलसँग साक्षात्कार गर्ने। यात्राको उत्साहले बाटोका कठिनाइहरूलाई गौण बनाइदिएको थियो।
रसुवा हुँदै हामी स्याफ्रुबेंसी पुग्यौँ। त्यहाँ एक रात बास बसेपछि भोलिपल्ट बिहानै टिमुरे अध्यागमन कार्यालयतर्फ लाग्यौँ। अध्यागमनमा यात्रुको ठूलो भीड थियो। करिब दुई घण्टा लाइनमा उभिनुपर्यो। लाइन भन्नुभन्दा पनि ठेलमठेल भन्नु उपयुक्त होला। अन्ततः अनुमति प्राप्त भयो।
त्यसपछि टिमुरेबाट चीनको सीमासम्म पैदल हिँडेर पुग्यौँ। त्यहाँ पुग्दा भने नेपालको अध्यागमनतर्फको अवस्था देखेर मनमा अनेक प्रश्न उठे। कार्यालयहरू केही अस्तव्यस्त र सामान्य सुविधाबाट पनि वञ्चितजस्ता देखिन्थे। दिनभरि त्यहीँ बस्नुपर्ने अवस्था आयो। पानी खाने ठाउँ थिएन। एउटा सामान्य पसलसम्म थिएन। चर्को घामबाट जोगिन ओत लागेर बस्ने ठाउँसमेत थिएन।
तर हामी १८ जनामध्ये कसैको मुखबाट गुनासो निस्किएन।
किनकि हाम्रो आँखामा कैलाश थियो। मनमा मानसरोवर थियो। वर्षौंदेखिको एउटा आध्यात्मिक अभिलाषा पूरा हुने आशा थियो। त्यसैले घाम, भोक, तिर्खा र थकान पनि सहन सकिने कुरा लाग्यो।
हामीसँगै स्वदेशी र विदेशी गरी करिब सय जनाको अर्को ठूलो टोली पनि थियो। सबैको अवस्था उस्तै थियो। घाम खाँदै, थकान सहँदै हामी बल्लबल्ल साँझ करिब पाँच बजे चिनियाँ अध्यागमनमा पुग्यौँ। त्यहाँ आवश्यक चेकजाँच र प्रक्रिया पूरा गर्दा करिब छ बजेतिर केरुङतर्फ लाग्यौँ।
त्यस क्षण मेरो मनमा एउटा प्रश्न भने लगातार घुमिरह्यो-कैलाश पुग्न हजारौँ मानिस नेपाल भएर आउँछन्, तर उनीहरूलाई स्वागत गर्ने हाम्रो नाका किन यस्तो छ?
यात्रामा अघि बढ्दै जाँदा नेपाल र छिमेकी देशबीचको पूर्वाधारको अन्तर अझ प्रस्ट देखिँदै गयो।
मलाई हिन्दी चलचित्रका गोविन्दा र कादर खान अभिनीत एउटा पुरानो फिल्मको दृश्य सम्झना आयो। फिल्मको एउटा दृश्यमा पाँचतारे होटलजस्तो भव्य भवनको अगाडि होटल अगाडी गोबिन्दा छाप्रो होटल जस्तो देशको अबस्था देखाइएजस्तो लाग्छ। छिमेकीतर्फ हेर्दा त्यस्तै एउटा विडम्बनापूर्ण दृश्य आँखाअगाडि आयो—उता आधुनिक संरचना, यता कमजोर र जीर्ण पूर्वाधार।
तर हामी नेपालीको सानो खुसी पनि कताकता खोसिएको अनुभूति भयो।
आज कैलाश–मानसरोवर यात्रामा दैनिक हजारौँ मानिस निस्कन्छन् भन्ने कुरा यात्राका क्रममा थाहा भयो। यो आफैँमा ठूलो सम्भावना हो। धार्मिक पर्यटन मात्रै होइन, यसले नेपालको रोजगारी, व्यापार, होटल व्यवसाय, यातायात र समग्र अर्थतन्त्रलाई ठूलो योगदान दिन सक्छ। तर यस्तो विशाल सम्भावनाको प्रवेशद्वारमै यदि यात्रुले पानी पिउने ठाउँसमेत पाउँदैन भने हामीले कल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना व्यवहारमा कहिले देखिने?
कैलाशको बाटोमा मैले अर्को एउटा दृश्य पनि गहिरोसँग नियालेँ।
२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको खासा बजार अहिले लगभग पूर्ण रूपमा पुनर्निर्माण भएको देखियो। जहाँ भूकम्पको विनाशका निशान थिए, त्यहाँ अहिले ठूला–ठूला आधुनिक भवनहरू उभिएका छन्। बजार व्यवस्थित देखिन्छ। संरचनाहरू तीव्र गतिमा बनिरहेका छन्।
त्यहीँबाट नेपालतर्फ फर्केर हेर्दा भने मन झस्किन्छ।
तातोपानी नाकाको अवस्था हेर्दा २०७२ सालको भूकम्पले छोडेको घाउ अझै झलझली सम्झना आउँछ। खोला पारि ठूला–ठूला महलहरू उठिरहेका छन्, तर यता उही पुरानो पीडा र कमजोर संरचना देखिन्छ।
हाम्रो गाउँघरमा एउटा उखान छ—‘बाह्र वर्षमा खोला पनि फर्किन्छ।’ यहाँ त बाह्र वर्ष पुग्न लागिसक्यो, खोला फर्कियो कि फर्किएन थाहा छैन, तर हाम्रो तातोपानी नाकाको अवस्था भने कति फर्कियो भन्ने प्रश्न मनमा उब्जिरह्यो।
टिमुरे नाका बन्द भएका कारण मैले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल प्रवेश गर्ने अवसर पाएँ। खासा बजारलाई नजिकबाट हेर्ने मौका पनि मिल्यो। त्यहाँ पुनर्निर्माणको गति देखेपछि प्रश्न झन् गहिरो भयो—उता यति ठूलो परिवर्तन सम्भव छ भने यता किन सम्भव छैन?
यो प्रश्न कुनै देशको प्रशंसा वा अर्को देशको आलोचनाका लागि मात्र होइन। यो आफ्नै देशप्रतिको चिन्ता हो।
तातोपानीबाट नेपाल प्रवेश गरेपछि एक जना कर्मचारीसँगको कुराकानीले मलाई झन् छोयो। उहाँ कुन दर्जाको कर्मचारी हुनुहुन्थ्यो, मलाई थाहा भएन। तर उहाँले भन्नुभएको कुरा मेरो मनमा गहिरोसँग बस्यो।
उहाँले भन्नुभयो—
‘हामी आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छौँ। हेर्नुस्, माथिबाट हिजो–अस्ति ठूलो ढुंगा खसेको हो।’
उहाँले अध्यागमन कार्यालयअगाडिको ठूलो चट्टानी पहरा देखाउँदै त्यसतर्फ संकेत गर्नुभयो।
मैले माथितिर हेरेँ। साँच्चिकै त्यो पहरा हेर्दा सामान्य अवस्थामा पनि जोखिम महसुस हुन्थ्यो। ठूलो विपत्ति आउँदा त के होला भन्न सकिने अवस्था थिएन। तर हरेक दिन त्यही ठाउँमा कर्मचारीहरू बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्।
मेरो मनमा लाग्यो—ठूलो विपत्ति आउँदा सबैलाई बचाउन सकिएला नसकिएला, त्यो छुट्टै कुरा हो; तर सामान्य अवस्थामा काम गर्ने वातावरण त बनाउन सकिन्छ नि!
अध्यागमन कार्यालयअगाडिको ठूलो चट्टानी पहरामा तारजाली लगाउन सकिन्छ। सम्भावित पहिरो र ढुंगा खस्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ। सानो–सानो सावधानीले ठूलो मानवीय क्षति रोक्न सकिन्छ।
सरकारले यस्ता जोखिमको समयमै रोकथाम गरिदिने हो भने कर्मचारीहरूको मनोबल बढ्छ। उनीहरू अझ आत्मविश्वासका साथ काम गर्न सक्छन्। राज्यको सेवा प्रभावकारी हुन्छ। अन्ततः सरकारको लक्ष्य पूरा गर्न पनि सहयोग पुग्छ।
मैले त्यहाँ प्रहरी, प्रशासन र कर्मचारीहरूलाई काम गरिरहेको देखेँ। उनीहरू काम गर्ने मनस्थितिमै देखिन्थे। तर राज्यले उनीहरूलाई आवश्यक पूर्वाधार र सुरक्षित कार्य वातावरण दिन सकेन भने उनीहरूको मनोबलमाथि पनि असर पर्न सक्छ।
देश बनाउने काम ठूला भाषणबाट मात्रै हुँदैन। कहिलेकाहीँ एउटा तारजालीले पनि देश बनाउने काममा योगदान दिन सक्छ। एउटा सुरक्षित कार्यालयले पनि राज्यप्रतिको विश्वास बढाउन सक्छ। यात्रुले पानी पिउन पाउने एउटा धारा पनि राज्यको उपस्थितिको अनुभूति बन्न सक्छ।
तातोपानीबाट फर्किंदै गर्दा अर्को एउटा घटनाले मलाई निकै खुसी बनायो।
म सुमो रिजर्भ गरेर आउँदै थिएँ। सुख्खा बन्दरगाहतिर पुगेपछि सशस्त्र प्रहरीको चेकजाँच भयो। त्यहाँ खटिएका प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गरिरहेको देखियो।
कतिपय स्थानीय व्यापारीहरूले चिनियाँ चामल तथा अन्य सामान भन्सार छलेर ‘घरमा खानका लागि’ भनेर ल्याउने रहेछन्। तर त्यस दिन ड्युटीमा रहेका प्रहरीले त्यस्ता सामान लैजान दिएनन्।
एक जनाले बारम्बार आग्रह गरिरहेको थियो। प्रहरीले स्पष्ट रूपमा भनिरहेका थिए तिमी सधैँ यस्तै गर्छौ। आज दिन्नँ। जसलाई फोन गर्नुपर्ने हो गर, म छोड्न सक्दिनँ।’
उहाँले आफूभन्दा सिनियर कर्मचारीसँग पनि यही कुरा राख्दै हुनुहुन्थ्यो सरले सधैँ यस्तै गर्छ।’
त्यो दृश्य मलाई राम्रो लाग्यो।
किनकि देश बनाउन ठूला–ठूला योजना मात्र चाहिँदैनन्। आफ्नो जिम्मेवारीमा बसेको एउटा कर्मचारीले इमानदारीपूर्वक आफ्नो काम गर्नु पनि देश निर्माणकै एउटा महत्वपूर्ण हिस्सा हो।
म अर्को गाडीमा आएँ। त्यसपछि त्यो सामान के भयो, थाहा भएन। तर त्यहाँ देखेको प्रहरीको कर्तव्यनिष्ठा मेरो यात्राको एउटा सुखद सम्झना बनेर रह्यो।
कैलाशको यात्रा मेरो लागि केवल एउटा धार्मिक यात्रा रहेन। यो देशलाई अर्को कोणबाट हेर्ने यात्रा पनि बन्यो।
कैलाशको शान्त पहाडले मलाई आस्था सिकायो। मानसरोवरको विशाल जलराशिले मनलाई शान्त बनायो। तर सीमाबाट फर्किंदा आफ्नै देशका कमजोर संरचनाले मनमा अर्को प्रकारको तरंग पैदा गरिदियो।
हामी नेपालीहरू ठूलो सपना देख्छौँ। समृद्धिको सपना देख्छौँ। सुखी नेपालीको सपना देख्छौँ। धार्मिक पर्यटनबाट देशको अर्थतन्त्र बलियो बनाउने कुरा गर्छौँ। नाका विस्तार गर्ने कुरा गर्छौँ। पूर्वाधार विकासका योजना बनाउँछौँ।
तर ती सपना पूरा गर्ने पहिलो खुड्किलो त सीमामा उभिएको एउटा यात्रुले अनुभव गर्ने सुविधा हो।
उसले पानी पायो कि पाएन? घामबाट जोगिने ठाउँ पायो कि पाएन? सुरक्षित कार्यालय देख्यो कि देखेन? कर्मचारीले सुरक्षित वातावरणमा काम गर्न पाएको छ कि छैन? सीमा नाकाबाट देशको अनुहार कस्तो देखियो?
यी साना देखिने प्रश्नहरू नै वास्तवमा ठूला प्रश्न हुन्।
मलाई लाग्छ, देश निर्माणको सुरुवात पनि यिनै साना कुराबाट हुन्छ।
तातोपानी नाकामा भेटिएका ती कर्मचारीले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेको कुरा सम्झँदा राज्यप्रतिको एउटा जिम्मेवारी अझ प्रस्ट हुन्छ । कर्मचारीलाई काम गर्न भनिसकेपछि उसलाई सुरक्षित वातावरण पनि दिनुपर्छ।
अध्यागमनअगाडिको पहरामा तारजाली लगाउन धेरै ठूलो बजेट नलाग्न सक्छ। यात्रुलाई पानी पिउने व्यवस्था गर्न ठूलो योजना आवश्यक नपर्न सक्छ। घाम र वर्षाबाट जोगिने सामान्य संरचना बनाउन असम्भव कुरा होइन। तर यिनै साना कुराको अभावले कहिलेकाहीँ राज्यको ठूलो कमजोरी देखाइरहेको हुन्छ।
कैलाश जाने बाटोमा हजारौँ विदेशी र स्वदेशी यात्रुहरू नेपाल भएर आउँछन्। उनीहरूले हाम्रो देशलाई पहिलोपटक सीमाबाट देख्छन्। त्यहाँ देखिने एउटा धारा, एउटा सफा शौचालय, एउटा व्यवस्थित अध्यागमन कार्यालय, एउटा सुरक्षित प्रतीक्षालय र इमानदारीपूर्वक काम गर्ने कर्मचारी यी सबै नेपालको परिचय बन्न सक्छन्।
त्यसैले यो यात्रा सकेर फर्किंदा मेरो मनमा कैलाशको दर्शनको आनन्दसँगै एउटा आग्रह पनि बोकेर फर्किएको छु ।
हामीले ठूला सपना देख्न छाड्नु हुँदैन। तर ती सपना साकार पार्ने काम साना–साना ठाउँबाट सुरु गर्नुपर्छ।
खासा बजार पुनर्निर्माण भएर चम्किन सक्छ भने तातोपानी पनि व्यवस्थित बन्न सक्छ। केरुङतर्फ पूर्वाधार बन्न सक्छ भने टिमुरेमा पनि यात्रुले पानी पिउन र केही समय सुरक्षित रूपमा बस्न सक्ने संरचना बन्न सक्छ। जोखिमपूर्ण पहरामा तारजाली लगाउन सकिन्छ। कर्मचारीका लागि सुरक्षित कार्यस्थल बनाउन सकिन्छ। नाकालाई व्यवस्थित र आकर्षक बनाउन सकिन्छ।
यति गर्न सकेमा ‘सुखी नेपाली’को सपना केवल भाषणमा सीमित रहने छैन।
कैलाशको बाटोबाट फर्किँदै गर्दा मलाई लागेको एउटा कुरा अझै मनमा गुञ्जिरहेको छ।
देश बनाउन असम्भव केही छैन; आवश्यक छ त केवल इच्छाशक्ति, इमानदारी र समयमै गरिएको सानो काम।
तातोपानी नाकामा ड्युटीमा खटिएका ती इमानदार प्रहरी, जोखिमपूर्ण पहरामुनि बसेर आफ्नो कर्तव्य निभाइरहेका कर्मचारी र कैलाश दर्शनको अभिलाषा बोकेर घाममा घण्टौँ उभिएका सयौँ यात्रुहरूलाई सम्झिँदा लाग्छ ।देशका लागि काम गर्ने मान्छेहरू अझै छन्। अब राज्यले उनीहरूलाई साथ दिनुपर्छ। र हामीले पनि प्रश्न गरिरहनुपर्छ । कैलाश जाने बाटोमा संसारका हजारौँ मानिस आउँछन् भने नेपालको ढोका उनीहरूलाई कस्तो देखिनुपर्छ?
यो प्रश्न मेरो मात्र होइन, हामी सबैको हो।














